काठमाडौं । पछिल्लो समय कुनै पनि स्वास्थ्य समस्या लिएर उपचारका लागि स्वास्थ्य संस्था आउने हरेक चौथो व्यक्ति मानसिक रोगबाट पीडित हुने गरेको देखिन थालेपछि, विज्ञहरु आत्तिएका छन् । सामाजिक जीवनमा आएको परिवर्तन र नयाँपिँढीको बढ्दो महत्वाकांक्षाका कारण मानसिक रोगको जटिलता झन् थपिन थालेको विज्ञहरुको भनाइ छ ।
मानसिक रोग विज्ञ डा. विश्वबन्धु शर्माले पछिल्लो दुई तीन वर्षदेखि मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको बताउनु भएको छ । तर, सरकारले यसलाई अझै नसर्ने रोगभित्र प्रवेशसम्म गराउन नसक्नु दुःखद भएको डा. शर्माको गुनासो छ । ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठीले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा विज्ञहरुले मानसिक रोगबाट बालबालिका पनि प्रभावित हुन थालेको भन्दै चिन्ता गरे । आमाबुवाबाट टाढा बस्न बाध्य बालबालिकालाई नजिकका नातेदार वा संरक्षकबाटै यौनदुर्व्यवहार हुने गरेको र उनीहरुमा मानसिक समस्या बढ्दो रुपमा देखिएको उनीहरुको भनाइ छ ।
तथ्यांक अनुसार, करिब १३ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मानसिक रोगबाट पीडित रहेको विवरण छ । तर, यसको उपचार र रोकथामका लागि सरकारले मात्र औपचारिक बजेट दिने गरेको छ । स्वास्थ्य क्षेत्रमा दिने गरिएको बजेटको २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यका लागि विनियोजन हुने गरेको छ ।
चार दशकदेखि मानसिक स्वास्थ्य सेवामा संलग्न डा. विश्वबन्धु शर्माका अनुसार, त्यो बेला सर्ने रोगलाई प्राथमिकतामा राखेर मानसिक रोगलाई बेवास्ता गर्ने र हतोत्साही गर्ने चलन थियो । मानसिक रोगलाई हेर्ने सरकारको दृष्टिकोणमा अहिले पनि खासै परिवर्तन आउन नसकेको उहाँको दुःखेसो छ । ‘४३ वर्षअघि मानसिक रोगको सेवासम्म उपलब्ध थिएन । सिमित स्रोतसाधनले एक जना परिष्ठ मानसिक रोग विज्ञसँग काम थालेको थिएँ, उहाँ भन्नुुहुन्छ, ‘अहिले मष्तिस्कको अध्ययनमा ठुलो फड्को मारिसकियो तर सरकारले उचित स्थान दिएको छैन’ ।
शरीरको तौलमध्ये जम्मा २ प्रतिशत मात्रै तौल दिमागको हुन्छ । तर, यसले सम्पूर्ण शरीरलाई नै नियन्त्रणमा राख्नसक्छ । मष्तिस्कमा असर पर्दा यसले पाचनप्रणालीमा पनि प्रत्यक्ष असर गर्ने तथ्य अध्ययनहरुबाटै पुष्टि भइसकेको जनस्वास्थ्यविद डा.अरुणा उप्रेतीको भनाइ छ ।
पेटमा एक प्रकारको सेराटोनिन तत्व निस्कन्छ । मानसिक स्वास्थ्य राम्रो भएर खुशी भएको बेला यो तत्व धेरै निस्कन्छ । र, दुःखी भएको बेला कम निस्कने गर्छ । यो तत्व धेरै निकाल्नका लागि पेटको स्वास्थ्य राम्रो बनाउनुपर्ने डा. उप्रेतीको भनाइ छ ।
पेटको स्वास्थ्य राम्रो बनाउन खानपिन महत्वपूर्ण हुन्छ । गर्भावस्थामा जाँडरक्सी खाने महिलाको शाररीक रुपमा अशक्त बच्चा जन्मने खतरा अत्यधिक हुने पुष्टि भइसकेकाले खाना, पेट र मष्तिस्कबीच गहिरो सम्बन्ध छ, भन्ने कुरा पनि प्रमाणित छ । मस्तिष्कले पेटलाई नियन्त्रण गर्ने कुरा मेटाबोलिकल पुस्तकमा उल्लेख छ । गलत खानपिन, अव्यवस्थित कार्यशैली र अनिद्राले, मानसिक स्वाथ्यमा गम्भीर असर गर्ने गरेको डा. शर्माको भनाइ छ ।
निद्रा र मानसिक स्वास्थ्य
निद्रा र मानसिक स्वास्थ्यबीच सबैभन्दा गहिरो सम्बन्ध देखिएको छ । दैनिक ७ देखि ८ घण्टा रातको समयमा निदाउने मान्छे मानसिक रुपमा स्वस्थ रहन्छन् । निद्राको बेला दिमागका नसाले आन्तरिक मर्मतको काम गरिरहने डा. शर्मा बताउनुहुन्छ । निद्रा कम लाग्ने मान्छेलाई भविष्यमा मानसिक रोग लाग्ने सम्भावना ज्यादा हुन्छ । ज्येष्ठ नागरिकलाई समेत निद्रा पर्याप्त पुग्नुपर्ने उहाँ बताउनुहुन्छ ।
बुढापाकाहरु लामो समय नसुते पनि बेलाबेलमा सुत्ने उठ्ने र फेरी सुत्ने गरिहन्छन् । सुत्ने बेला दिमागलाई तनाब मुक्त पार्ने, दिमागलाई धेरै बोझ हुने काम नगर्ने शान्त र मन्द प्रकारका गीतसंगीत सुन्ने र ध्यान गरेर मस्तिष्कलाई आराम दिनुपर्ने मानसिक रोग विज्ञ डा. शर्माको सुझाव छ ।
शारीरिक सक्रियता
शारीरिक रुपमा सक्रिय हुनु शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि पनि निकै महत्वपूर्ण छ । शारीरिक व्यायाम र गतिविधिले जीवनका हरेक आयाममा असर पार्ने डा. शर्मा बताउनुहुन्छ । शारीरिक रुपमा सक्रिय व्यक्ति तन्दुरुस्त हुनुको साथै मानसिक रुपमा पनि स्वस्थ हुने उहाँको भनाइ छ ।
खाना र मानसिक स्वास्थ्य
जीवन धान्ने खानाले हो । तर, सही र व्यवस्थित खानपिन रोज्न नसकिए शरीर रोगको घर बन्नसक्छ । अधिकांशको बानी, पाएको बेला टन्न खाने र नपाएको बेला भोकै बस्ने हुन्छ । तर, यस्तो बानी शरीरको लागि एकदमै घातक हुने विज्ञहरुको भनाइ छ । पोषणविद डा. अरुणा उप्रेतीका अनुसार ताजा, अप्रशोधित, कम र विषादीरहित खानपिन शरीर स्वस्थ राख्ने आधार हो ।
पोषणयुक्त खानाले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ । अहिले बालबालिकाको खानपिनमा परिवर्तन आएको छ, स्वस्थकर घरको खानपिन भन्दा बाहिरकै पत्रु खाना खाने खुवाउने काममा बालबालिका र अभिभावक दुवै लाग्दा, समाज विस्तारै मानिसक रोगीको अखडा बन्ने जोखिम बढेको डा.उप्रेतीको चिन्ता छ । डा. उप्रेती गाँउ शहर जहाँ पुगे पनि पत्रु खानाको विपक्षमा वकालत गर्नुहुन्छ । तर आफ्नो सुझावलाई अभिभावकले समेत बेवास्ता गरेको उहाँको गुनासो छ ।