काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २१औँ संस्करण शुरु भएको छ । राष्ट्रियसभागृह र नेपाल पर्यटन बोर्ड भइरहेको फेस्टिभल जेठ २० गतेसम्म चल्नेछ । काठमाडौं महानगरपालिका सहआयोजक रहेको फेस्टिभलमा २२ देशका ६० वटा चलचित्र प्रदर्शन हुने बताइएको छ ।
किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, कथानक, लघु तथा प्रयोगात्मक चलचित्र समावेश छन् । नेपाल पानोरामा शीर्षकअन्तर्गत स्वदेशी प्रतिभाका चलचित्र प्रदर्शन हुनेछन् । फेस्टिभलको पहिलो चलचित्र इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ छ । नेपालमा छायांकन गरिएको यो वृत्तचित्र एक युवाको कथा हो, जो बाघको बच्चालाई सिकारीबाट बचाउन देशव्यापी साहसिक यात्रामा निस्कन्छ ।
महोत्सवको आयोजक संस्था किम्फ फाउन्डेसनकी अध्यक्ष रम्यता लिम्बूका अनुसार महोत्सवले आफ्ना चलचित्र र कार्यक्रमको लाइन-अपमार्फत दर्शकलाई मनोरञ्जनसँगै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद हुनेछ ।
किम्फ २०२४ को निर्णायकमा निर्देशक÷निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) छन् । निर्णायकमण्डलले अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल पानोरोमा विधाका १३ वृत्तचित्रसँगै १६ आख्यान मध्येबाट विजेता छनोट गर्ने आयोजकको विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर वृत्तचित्रलाई १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई १ हजार डलर, उत्कृष्ट फिचर कथानक चलचित्रलाई १ हजार ५ सय डलर र उत्कृष्ट लघु कथानक चलचित्रलाई १ हजार डलर पुरस्कार प्रदान गरिनेछ । नेपाल पानोरोमामा सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रले एक लाख नेरु प्राप्त गर्नेछन् ।