काठमाडौं । आगामी आर्थिक वर्षको बजेट समग्रमा आशा जगाउने गरी आएको सरोकारवालाहरुले बताएका छन् । अर्थतन्त्रमा आएको समस्याको पहिचान गरी त्यसलाई न्यूनिकरण गर्नेगरी बजेट ल्याइएको उनीहरुले बताएका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बैंकिङ प्रणालीमा सेवाको अन्तरआवद्धता गर्ने नीति लिनु सकारात्मक भएको बताउनुभयो ।
नेपाल बैंकर्स संघले सरकारलाई डिजिटल नेपाल फ्रेमवर्क अनुसार बैंकिङ प्रणालीलाई सरकारी कामसँग लिंक गर्न सुझाव दिएको थियो । जसअनुसार सरकारले बैंकिङ प्रणालीमा सेवाको अन्तरआवद्धता गर्नेतर्फ नीति बनाएको अध्यक्ष केसी बताउनुहुन्छ । यसले ससाना कर्जा प्रवाहमा समेत सहजता प्रदान गर्ने तथा लागत कम गर्न सकिने उहाँले जिकिर गर्नुभयो ।
यस्तै राष्ट्रिय परिचयपत्रलाई बैंकिङ प्रणालीमा जोड्ने विषय पनि सकारात्मक रहेको उहाँ बताउनुहुन्छ । यसबाहेक विदेशी ऋणी ल्याउँदा ब्याजदरमा लाग्ने कर घटाउने कुरा बजेटमा समावेश छ । जसले सकारात्मक सन्देश जाने उहाँले बताउनुभयो । यसबाहेक बैंकिङको सुरक्षा, सचेतना लगायतका विषयमा बजेटमै बोलिनु निकै राम्रो उहाँको भनाइ छ । सहुलियतपूर्ण कर्जाको बक्यौता लिन बाँकी रकम नै बढी भएको अहिलेको अवस्थामा ११ अर्ब छुट्याइएकाले यसमा कसरी थप अगाडि बढ्न सकिन्न भन्नेबारे विस्तारै समन्वय हुनुपर्नेमा उहाँको जोड छ ।
जलविद्युत, ट्रान्समिसन लगायतको निर्माणमा निजी क्षेत्रको सहभागीता गराइने विषयले पनि बैंकिङ क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने उहाँ बताउनुहुन्छ । ‘नीति राम्रो भएकाले अब यसलाई कार्यान्वयन सही तरिकाले गर्न सकेमा बैंकिङ क्षेत्रमा राम्रो प्रभाव पार्ने हाम्रो बुझाइ छ,’ उहाँले भन्नुभयो ।
यस्तै, नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सीईओ मनोज ज्ञवाली सरकारले निकै दवावपूर्ण अवस्थामा सुझबुझपूर्ण तरिकाले सकारात्मक सन्देश दिने गरी बजेट ल्याउन सकेको बताउनुहुन्छ । गएको वर्ष बजेट आएकै दिनदेखि निजी क्षेत्र तथा सामान्य नागरिक समेत हतोत्शाहित हुन परेको सम्झँदै नयाँ बजेटले सुरुवातदेखि नै आशा जगाउने गरी आएको उनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘थप के थियो भन्नेतर्फ नजाऔं, थप नविगार्ने भन्नेतर्फ सरकारले बजेट ल्याएको छ, जुन सकारात्मक छ ।’
बजेटले बैंकिङको सुरक्षाका विषयमा हेर्ने, वैदेशिक ऋण ल्याउन सहजता प्रदान गर्ने लगायतका सुविधा दिने विषय बजेटमा समावेश हुनु राम्रो भएको उहाँले बताउनुभयो । ‘नयाँ सम्भावना के छ भन्ने आँकलन, कुन क्षेत्रमा समस्या छ भन्ने पहिचान दुवै गरेको छ,’ उहाँले भन्नुभयो,‘सबैभन्दा महत्वपूर्ण कुरा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ भन्ने आशयका साथ बजेट आएको छ । जुन सकारात्मक छ ।’