काठमाडौं । यो पल्ट मुलुकका सबै अर्थात् ७५३ वटै पालिकामा बैंकिङ् पहुँच स्थापित हुने भएको छ । बैकिङ सेवाको पहुँच बाहिर रहेको एक मात्र स्थानीय तह बझाङ्को साइपाल गाउँपालिकामा यसै वर्ष बैंकको शाखा स्थापना हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम मै साइपालमा बैंकको शाखा विस्तार गर्ने घोषणा गरेसँगै त्यहाँ बैकिङ पहुँच स्थापित हुने भएको हो । नेपाल राष्ट्र बैंकले समेत बैंकिङ पहुँच बाहिर रहेको साइपालमा यो पल्ट शाखा स्थापना हुने पक्कापक्की भइसकेको बताएको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले यसको थप पुष्टि गर्नु भएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उहाँले, ‘पहुँच बाहिर रहेको एउटा पालिकामा बैंक स्थापना गर्ने कार्य अघि बढिसकेको थियो । बजेटमा नराखेको भए पनि हुन्थ्यो । बजेट मै आइसकेपछि यसलाई थप प्राथमिकता दिनुपर्ने देखियो,’ भन्नुभयो ।
साइपालको नाम नलिए पनि उहाँले त्यहाँ विद्युत आपूर्ति र पक्की घर संरचनाका कारण बैंकको शाखा कार्यालय स्थापना गर्न कठिनाई भएको बताउनुभयो । यसअघि राष्ट्र बैंकले एभरेष्ट बैंकलाई जिम्मा दिएको भए पनि उसले उपयुक्त सडक सञ्जाल, सुरक्षा व्यवस्था र अन्य प्राविधिक कठिनाईहरु देखाउँदै आनाकानी गरेको थियो ।
अर्थमन्त्री वर्षमान पुनले समेत बैंक शाखाबारे तोकेरै योजना सार्वजनिक गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘बैकिङ सेवा पुग्न बाँकी रहेको एकमात्र पालिका बझाङको साइपालमा बैंक शाखा स्थापना गरिनेछ ।’ यस्तै दुर्गम एवं ग्रामीण क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्न डिजिटल बैंकिङ, घुम्ती बैंकिङ र मोबाइल बैंकिङ सेवालाई सघन रूपमा उपयोग गर्दै लगिने बजेटमा उल्लेख छ ।
मुलुक संघीयतामा गएको लामो समय वितिसक्दा पनि साइपाल गाउँपालिका बैंकिङ सुविधाको पहुँच बाहिर छ भने स्थानीय नागरिक बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम धाउन बाध्य छन् । गाउँपालिकामा बैंकिङ सेवा विस्तार नहुँदा आर्थिक कारोबारका लागि नगदै बोकेर हिड्नु पर्ने बाध्यताबाट साइपालबासी मुक्त हुनसकेका छैनन् । स्थानीय नागरिकहरु बैंक जानु परे एक हप्ताको समय बर्वाद पार्नु पर्ने कष्ट झेलिरहेका छन् । गाउँपालिका अध्यक्ष मनवीर बोहरा, ‘अहिलेसम्म पनि पालिका बैंकिङ सेवाविहिन छ । स्थानीयले बैंकसम्म जान आउनका लागि एक साता छुट्याउनु पर्छ । सडक सञ्जालको पनि राम्रो प्रबन्ध नहुँदा पैदलै ओहोर दोहोर गर्नु पर्ने बाध्यता छ । बाटोमा बास बस्नु पर्ने हुँदा थप आर्थिक व्ययभार समेत व्यहोर्नु परेको छ’ गुनासो गर्नुहुन्छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता एवं निवृत्तिभरणको रकम बैंकमार्फत मात्रै भुक्तानी दिने व्यवस्था लागु गरेको छ । तर, साइपालका स्थानीयले घरदैलोमा त्यसको उपयोग गर्न पाएका छैनन् । पालिकाभित्र बैंक नहुँदा वृद्धभत्तासहितका सामाजिक सुरक्षा भत्ता एवं निवृत्तिभरणको रकम तथा अन्य वित्तीय कारोबारका लागि सदरमुकाम धाउनु परेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा तलमाथि हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै संघीय सरकारले उक्त भत्तालाई बैंकिङ प्रणालीमार्फत वितरण गर्ने व्यवस्था लागू गरेको छ । देशभरी सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमार्फत लाभग्राहीको हातहातमा पुग्छ । तर, बझाङको साइपाल गाउँपालिकामा अहिले पनि नगदै वितरण गरिन्छ ।
जनप्रतिनिधिले विकासे कामहरू खानेपानी, भवन निर्माण लगायतका काम गर्दा बैंक खाता खोल्न र रकम भुक्तानीका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । गाउँपालिकाले बैंक नभएका कारण चैनपुरमा सम्पर्क कार्यालय राखेर सेवा दिनु परेको छ । जनप्रतिनिधि नभएको संकटकालीन समयको जस्तै अहिले पनि अधिकांश काम जिल्ला सदरमुकामा रहेको कार्यालयबाट सेवा प्रवाह भइरहेका कारण जनप्रतिनिधि भेट्न समेत चैनपुर पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई तोकेको थियो । दुर्गम गाउँपालिकामा सडक, विद्युत्, इन्टरनेट टेलिफोन सञ्चार पूर्वाधार, भवन र शान्ति सुरक्षाको प्रत्याभूति नभएकाले शाखा कार्यालय खोल्न नसकेको उसको जवाफ छ ।
राष्ट्र बैंक तथा वाणिज्य बैंकको टोली साइपालका स्थानीयलाई कसरी बैंकिङ दिन सकिन्छ भनी पालिकामा अध्ययनका लागि पटक-पटक गए पनि आँटिलो निर्णय लिन सकेको थिएन । यो पल्ट भने बजेट मै उल्लेख भएका कारण साइपालबासीको घर छेवैमा बैंकिङ सुविधा लिने धोको पूरा हुने भएको छ ।