काठमाडौं । नेपालगन्ज र धनगढीको तापक्रम ४४ डिग्री नाघेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन गरिएको थियो । यो तापक्रम यो यामको सबैभन्दा बढी रहेको मौसमविद सरोज पुडासैनीले बताउनुभयो । पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको हो ।
शुक्रबारको अधिकतम तापक्रम पनि बिहीबारकै हाराहारीमा पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ । धनगढी र नेपालगन्जमा एक सातादेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । मौसमविद् पुडासैनीका अनुसार नेपालगन्जमा जेठ १२ गतेदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । अघिल्लो दिन (जेठ ११ गते) नेपालगन्जको तापक्रम ३८.८ डिग्री सेल्सियस थियो ।
त्यसपछि लगातार बढ्न थालेको तापक्रम जेठ १३ गते ४१ डिग्री सेल्सियस, जेठ १४ गते ४० डिग्री सेल्सियस, जेठ १५ गते ४१.७ डिग्री सेल्सियस, जेठ १६ गते ४२.८ डिग्री सेल्सियस र जेठ १७ गते (हिजो) ४४.२ डिग्री सेल्सियस पुगेको हो । धनगढीको पनि जेठ १२ देखि तापक्रम ४०.३ डिग्री सेल्सियस नाघेको हो ।
जेठ ११ गते धनगढीको अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यसपछि बढ्न थालेको तापक्रम जेठ १३ गते ४०.८ डिग्री सेल्सियस, जेठ १४ गते ४१.३ डिग्री सेल्सियस, जेठ १५ गते ४२ डिग्री सेल्सियस, जेठ १६ गते ४३.३ डिग्री सेल्सियस र जेठ १७ गते (हिजो) ४४.१ डिग्री सेल्सियस पुगेको हो ।
नेपालगन्ज र धनगढीसहित पश्चिम तराईका भूभागहरुमा तातो हावाको चेतावनी पनि महाशाखाले यसअघि नै दिइसकेको छ। यहाँ न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियस वरपर रहेकाले अत्यधिक गर्मी भएको छ। पूर्वी र मध्य तराईका जिल्लाहरूमा पश्चिम तराईको तुलनामा तापक्रम घटेको छ । विराटनगरमा बुधबार अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस मापन भएको थियो। त्यो भनेको काठमाडौंको भन्दा कम हो ।
काठमाडौंमा पनि बिहीबार ३४.४ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो । यसअघि जेठ ११ र १२ गते पनि काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको मौसविद पुडासैनीले बताए ।