मुगु । नेपाली सेनाले मुलुकको ठूलो र गहिरो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेल रन (दौड) प्रतियोगितको उपाधि राज्यलक्ष्मी र अक्कलले जित्नु भएको छ ।
नेपाली सेनाले बर्सेनि आयोजना गर्दै आएको दौड प्रतियोगिताको चौथो संस्करणअन्तर्गत भएको खेलमा ताल वरिपरि धावकलाई प्रतिस्पर्धी गराइएको थियो । यस वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हनुमान ध्वज गुल्म रारा रहेको छ ।
शुक्रबार बिहान सञ्चालन भएको दौडमा महिला र पुरुष गरी एक सय ९४ जना खेलाडी सहभागि थिए । छायाँनाथ रारा नगरपालिका–१४ वाम गाउँका अक्कल बढुवालले निर्धारित १६ किमी दूरी एक घण्टा दुई मिनेट १० सेकेण्डमा पार गर्दै पहिलो हुनु भएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढाले एक घण्टा दुई मिनेट ११ सेकेण्डमा पार गर्दै द्धितीय र कनकासुन्दरी–२ का चन्द्र रावतले एक घण्टा दुई मिनेट २१ सेकेण्डमा पार गर्दै तृतीय स्थान प्राप्त गर्नु भयो ।
महिला सहभागी ३५ जनामध्ये गोठीचौर गाउँपालिका–३ गज्याङकोटकी राज्यलक्ष्मी रावलले निर्धारित १६ किलोमिटरको दूरी एक घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै प्रथम, पातारासी गाउँपालिका–२ जुम्ला पेडा गाउँकी कल्पना बुढाले एक घण्टा १४ मिनेट ५२ सेकेण्डमा दोस्रो र जुम्लाकी समिता बुढाले एक घण्टा १६ मिनेट ३१ सेकेण्डमा पार गर्दै तेस्रो हुनु भयो ।
प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीलाई जनही क्रमशः रु ५० हजार, रु ४० हजार, रु ३० हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । विजेतालाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायाँनाथ रारा नगरपालिकाका कावाप्रमुख पदमराज मल्ललगायतले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभएको थियो ।