काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको ऋण निरन्तर बढिरहनु चिन्ताको विषय भएको बताइरहँदा अर्बौं मूल्यको झार ‘गाँजा’ प्रहरीलै फाँडेरै सिध्याइरहेको छ । हालैमात्र मुद्रा कोषले नेपाललाई थप ऋण नलिन सुझाव दिँदै राजश्व बढाउनेतर्फ ध्यान दिन सुझाव दिएको थियो ।
अहिले नेपालको सार्वजनिक ऋण झण्डै २४ (२३ खर्ब ८५ अर्ब) खर्ब पुगेको छ । जुन, कुल गार्हस्थ उत्पादनको करिब ४४ प्रतिशत हो । मुद्राकोषका अनुसार ‘नेपालको सार्वजनिक ऋण मात्रै बढेको छैन, ऋणमा चर्को व्याज तिर्नु परिरहेको छ । र, यो अति चिन्ताको विषय हो’ ।
नेपालले यो आर्थिक वर्षमा पूँजीगत खर्चका लागि भन्दा सावाँब्याज भुक्तानीका लागि बढी नै बजेट विनियोजन गरेको छ । यो वर्ष पूँजीगत बजेट ३ खर्ब २ अर्ब विनियोजन भएकोमा सावाँब्याज भुक्तानीका लागि ३ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन भएको अवस्था छ । आगामी वर्ष सावाँब्याज भुक्तानीका लागि थप १ खर्ब रुपैयाँ आवश्यक हुने अनुमान गरिएको छ । यो आर्थिक वर्षमा मात्रै सरकारले १ खर्ब ७२ अर्ब साँवाव्याज तिरेको छ ।
मुलुक आर्थिक रुपमा टाँट पल्टिने अर्थात् अवस्था भयावह हुन सक्नेतर्फ गम्भीर चिन्ता उत्पन्न भइरहेका बेला सरकारले अर्बौं मूल्यको झार 'गाँजा’लाई तत्काल वैधता दिइनुपर्ने विश्लेषण हुन थालेको छ । यत्रतत्र पाइने झार गाँजालाई सरकारले वैधानिकता दिने तत्परता नदेखाए पनि गाँजा खेतीको सम्भाव्यता अध्ययनसम्म गर्न लगाएको छ ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफल पछि गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले गरेका छु्ट्टा-छुट्टै अध्ययनपछि नीति अनुसन्धान प्रतिष्ठानले संयुक्त प्रतिवेदन तयार पारेर सरकारलाई सिफारिस गरिसकेको छ । तर, २०७७ फागुन तेस्रो साता प्रतिनिधि सभामा दर्ता भएको ‘गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी गैर सरकारी विधेयक अहिलेसम्म पारित हुनसकेको छैन ।
‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चुनौती’ अनुसन्धान प्रतिवेदन
स्रोत : नीति अनुसन्धान प्रतिष्ठान
सरकारले ठोस निर्णय लिने आँट नगरे पनि वर्तमान प्रधानमन्त्री प्रचण्डले आगामी नयाँ बजेटमा गाँजा खेतीलाई समेट्ने संकेत गर्नुभएको छ । यद्यपि, सरकारको नियत हेर्न बाँकि नै छ । तर, गाँजाको वैधानिकताका लागि सडकदेखि सदनसम्म, स्थानीय, प्रदेश र संघ सरकारदेखि न्यायालयसम्म सर्वत्र आवाज उठेको छ ।
सत्ता परिवर्तनअघि गण्डकी प्रदेशको कृषि मन्त्रालयले गाँजा खेतीको प्रवद्र्धनका लागि अनुसूची दर्ताको आह्वान गरेको थियो भने ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाले बजेट विनियोजन गरेर गाँजा खेतीको तालिम दिनेदेखि अध्ययन सुरु गरेको छ । गाँजालाई वैधानिकता दिन सरकारका नाममा परमादेशको माग गरेर अधिवक्ता सरोज अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अहिले पनि विचाराधीन छ ।
सरकारले वैधानिकता दिन विलम्ब गरिरहेपनि औषधीय प्रयोजनका लागि नेपालमा गाँजाको व्यवसायिक खेती र प्रयोग हुन थालिसकेको छ । नेपाल फार्म व्यवसायी संघका अनुसार नेपालमा अहिले क्यान्सर, पेटको ट्युमर र थाइराइडका विरामीलाई गाँजाको तेल र औषधि प्रयोग गरेर धमाधम उपचार भइरहेको छ । गाँजाको तेल, चिया र भ्यासलिन (व्युटी प्रडक्ट) लगायतका उत्पादन बजारमा आउन थालिसकेका छन् ।
‘विश्वव्यापी रोजाइमा गाँजा’
सन् २०१८ मा अमेरिकी खाद्य तथा औषधि मन्त्रालयले गाँजालाई औषधिको सूचीमा राखेपछि यस्ले विश्वव्यापी अर्थतन्त्रमा आउने परिवर्तनलाई लिएर अनेकौं खोज र अनुसन्धान गरिरहेको छ । फर्च्यून बिजनेस इनसाईटले प्रकाशित गरेको एक तथ्यांक अनुसार सन् २०३० सम्ममा गाँजाको विश्वव्यापी कारोबार ४ सय ४४ दशमलव ४ अर्ब अमेरिकी डलर पुग्नेछ ।
क्यान्सर, मानसिक असन्तुलन, लामो समयदेखिको दुखाई लगायत अन्य विविध शारीरिक र मानसिक समस्या समाधानमा गाँजाले पार्ने सकारात्मक प्रभावका कारण यसको बजार आकाशिने दाबी गरिएको हो । साथै औषधिजन्य बाहेक मनोरञ्जन, सौन्दर्य प्रशाधन र पेय तथा खाद्य पदार्थजस्ता वस्तु र गतिविधीमा प्रयोग हुने भएकाले पनि यस्को बजार बढ्दै जाने निश्चित छ ।
(https;/www.fortunebusinessinsights.com/)
विश्वका शक्तिशाली अमेरिका, क्यानडा, जर्मनीजस्ता राष्ट्रहरु गाँजाबाट हुनसक्ने असिमित आर्थिक लाभका पछाडि रणनीतिक ढंगले अघि बढेका छन् । बेलायत, क्यानडा र फ्रान्सजस्ता राष्ट्रहरु यसबाट हुनसक्ने असिमित फाइदाबाट मुलुकको अर्थतन्त्र कायापलट गर्ने अभियानमा अनुसन्धान गरिरहेका छन् ।
अमेरिका र क्यानडा लगायतका मुलुकले खर्बौ कमाउने देखेपछि चीन पनि अघोषितरुपमा गाँजा खेतीमा लागेको छ । भारतले गाँजाजन्य औषधिको उत्पादनमा अघि बढ्ने संकेत दिएको छ । रामदेव नेतृत्वको पतञ्जली आयुर्वेद लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णले एक अन्तर्वार्तामा गाँजालाई अपराधको कोटीमा राख्न नहुने भन्दै आफुहरुले समेत यसमा अनुसन्धान गरिरहेको खुलासा गर्नुभयो ।
खर्बौ रुपैंयाको नियमित आर्थिक लाभ हुने सम्भावना रहेको नेपालमा भने गाँजामाथिको प्रतिबन्ध किन भन्ने न्यायोचित जवाफसमेत भेटिएको छैन । मेरी कप्र्स नामक अमेरिकी संस्थाले सन् २००३ मा गरेको स्थलगत अध्ययन प्रतिवेदनलेसमेत गाँजा प्रतिबन्धपछि रोल्पा लगायतका पहाडी क्षेत्रमा गरिबी बढेको उदेकलाग्दो तथ्य सार्वजनिक गरेको छ ।
‘स्थानीयहरुले आफ्नो जिवनशैली विगतमा उच्च रहेको दावी गरेका छन् । ३ दशकअघि उनीहरुको जीवनशैली नेपालको पश्चिमी पहाडी क्षेत्रमध्ये उच्च थियो । विश्व प्रसिद्ध गुणस्तरीय चरेश उत्पादनका कारण सन् १९३० अघिदेखि सन् १९७० को दशकसम्म (नेपालमा प्रतिबन्ध लाग्नुअघि) खाद्यान्न, गरगहना लगायतका वस्तु खरिद गर्न कुनै अप्ठ्यारो थिएन । मगर समुदायका महिलाहरु सुन र चाँदीका गहना सहजै खरिद गर्ने क्षमता राख्थे र रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता थिएन ।
दोश्रो विश्वयुद्धताका भारतमा नेपाली चरेश अत्यन्तै उच्च गुणस्तरको मानिन्थ्यो । गाँजाको रेसाबाट लुगासमेत बनाईन्थ्यो । नेपालमा गाँजा प्रतिबन्धपछि उनीहरुको जीवनस्तर खस्कन थालेको हो । सन् १९७६ र सन् १९८० को बिचमा उनीहरु सम्पन्नताबाट गरिबीतिर झरे । स्थानीयहरुको विचारमा चरेशमाथिको प्रतिबन्ध बच्चाको मुखबाट खाना खोसेजस्तो भएको छ । चरेश प्रतिबन्धपछि उनीहरु बाध्य भएर कालापहाड जानु पर्नेभयो । ‘वेस्टर्न नेपाल कन्फ्लिक्ट एसेसमेन्ट पेज नम्बर १२,१३,१४,१७,२१ मेरी कप्र्स २००३’
गाँजाका परिकार
कोकाकोलाः गाँजा मिसिएको कोक बनाउने तयारीमा
कोरोना बियरः गाँजा मिसिएको बियर बनाउने तयारीमा
हाइनिकेनः गाँजा मिसिएको सोडापानी उत्पादनमा संलग्न
मोलसन कुअर्सः अल्कोहल रहित गाँजा बियर उत्पादन
ओरिजिनः गाँजाको फेसप्याक
गाँजाजन्य उत्पादनबाट आर्थिक कायापलट भएका ५ कम्पनी
क्यूरा लिफ
स्थापनाः सन् २०१०
उत्पादनः औषधी र रमाइलोका लागि प्रयोग हुने गाँजाजन्य विविध सामाग्री
कुल बजार पूँजिकरणः ३।९५ अर्ब अमेरिकी डलरभन्दाबढी
ग्रिन थम्ब
स्थापनाः सन् २०१४
उत्पादनः औषधी र रमाइलोका लागि प्रयोगहुने गाँजाजन्य विविध सामाग्री
कुल बजार पूँजिकरणः ३।२९ अर्ब अमेरिकी डलर भन्दाबढी
इनोभेटिभ इन्डस्ट्रियल
स्थापनाः सन् २०१६
उत्पादनः औषधी र रमाइलोका लागि प्रयोगहुने गाँजाजन्य विविध सामाग्री
कुल बजार पूँजिकरणः २.८६ अर्ब अमेरिकी डलर भन्दाबढी
ट्रुलिभ क्यानाबिस
स्थापनाः सन् २०१६
उत्पादनः औषधि र रमाइलोका लागि प्रयोगहुने गाँजाजन्य विविध सामाग्री
कुल बजार पूँजीकरणः २.२९ अर्ब अमेरिकी डलर भन्दाबढी
भेरानो होल्डिङ्गस्
स्थापनाः सन् २०१४
उत्पादनः औषधी र रमाइलोका लागि प्रयोगहुने गाँजाजन्य विविध सामाग्री
कुल बजार पूँजिकरणः २ अर्ब अमेरिकी डलर भन्दाबढी
अन्तर्राष्ट्रिय बजारमा गाँजाको मूल्य
बर्लिनमा प्रतिकिलो साढे १३ लाख रुपैँयाभन्दा बढीमा बिक्रिहुने गाँजा नेपालमा प्रहरीलाई फाँड्नै फुर्सद छैन । नेपालमा अवैध भएको कारण यसको बजार मूल्यमा एकरुपता छैन । अवैध बनाइएकाले अर्बौ रुपैँया वर्षेनी गुमिरहेको छ । हाल नेपालमा गाँजा प्रतिकिलो ५ देखि ६० हजार रुपैयाँ र चरेश २ लाखदेखि ४ लाख रुपैयाँ प्रतिकिलोका दरले अवैध बेचबिखन भइरहेको छ । नेपालको गाँजा र चरेश आन्तरिक खपत बाहेक प्राय सबै भारत जाने गरेको छ । अवैध रुपमा भारत पुग्ने नेपाली गाँजा तथा चरेश गुणस्तरका आधारमा वर्गिकरण गरेर प्रतिकिलो १ लाख देखि ८ लाख रुपैँयासम्ममा विक्री हुन्छ । (प्राइसअफविड डट कम)
अन्तर्राष्ट्रिय बजारमा गाँजा तथा चरेशको मूल्य (२०१९ अप्रिल २-मा लिइएको)
काठमाडौंः १० रुपैँयादेखि ५ सय रुपैँया प्रति ग्राम
क्यानडाः १० देखि १५ अमेरिकी डलर प्रति ग्राम
अमेरिकाः करिब ८ अमेरिकी डलर प्रति ग्राम
नेदरल्याण्डस्ः करिब १० अमेरिकी डलर प्रति ग्राम
बेल्जियमः करिब १० अमेरिकी डलर प्रति ग्राम
अनुसन्धानकर्ताहरुको नजरमा गाँजाका फाइदाहरु
भगवान शिवसँग जोडिएर लेखिएका हिन्दु धार्मिक ग्रन्थहरुमा प्रयोग गर्न जानेको खण्डमा यसमा अमृत्व पाइने उल्लेख छ । शुरुमा गाँजालाई छिछि दुरदुर गरेका पश्चिमा वैज्ञानिकहरुले नै पछि अनुसन्धानमार्फत गाँजामा अमृत्व हुनसक्ने संकेत गरे । मन शान्त पार्ने, दुखाई निवारण, फोक्सोमा प्रभाव नपर्ने लगायतका विषयमा पश्चिमाहरुले गरेको अनुसन्धानसँगै यसले क्यान्सर निको पार्न र क्यान्सरबाट हुने पीडा कम गर्ने समेत प्रमाणित भइसकेको छ । पूर्वीय विज्ञानका हजारौँ वर्षअघिका ग्रन्थहरुमा गाँजाका असिमित फाइदाहरु यसअघिनै लिपिवद्ध भएको पाइन्छ ।
विगतमा नेपाल जस्ता राष्ट्रलाई दबाब दिएर गाँजा प्रतिबन्ध लगाएको अमेरिकामै २४ वटा प्रान्तमा गाँजाको प्रयोग वैध छ । अन्य १४ प्रान्तमा गााजामा पाईने टीएचसीको मात्रा तोकेर अपराध नमानिने व्यवस्था छ । अमेरिका भित्रनै यो वर्ष ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको गैर औषधिजन्य गाँजाको व्यापार हुने आँकलन गरिएको छ ।
गाँजामा पाइने तत्व
सीबीडी : क्यानाबीडायललाई छोटकरीमा सीबीडी भनिन्छ । गाँजामा पाइने २ प्रमुख तत्वमध्ये यो एक हो । यसले नशाको अनुभूति नगराइकन वा अत्यन्तै कममात्र मानसिक प्रभावसहित रोग निदानमा प्रभावकारी भूमिका निर्वाह गर्छ । हाम्रोमा परम्परागतरुपमा प्रयोग हुदै आइरहेको भाङ्गोमा पनि सीबीडी हुन्छ । यसले धेरै प्रकारका रोगहरुको निदानमा भूमिका खेल्न सक्ने देखिएको छ ।
टीएचसी : टेट्राहाइड्रो क्यानाबीनोललाई छोटकरीमा टीएचसी भनिन्छ । यसले नशाको अनुभूति गराएर मानसिक प्रभावसहित रोग निदानमा भूमिका निर्वाह गर्छ । हाम्रोमा परम्परागतरुपमा प्रयोग हुँदै आइरहेको गाँजा वा भाङमा टीएचसी हुन्छ । यसले धेरै प्रकारका रोगहरुको निदानमा भूमिका खेल्नसक्ने देखिएको छ ।
नेपाली गाँजा र चरेशबारे नेपालकै नाममा पुस्तक लेखेर लिखितरुपमा व्याख्यागर्ने पहिलो व्यक्ति सम्भवत कर्णेल कर्कप्याट्रिक हुन् । उनले एन एकाउन्ट अफ दी किङडम अफ नेपौल लेखेका थिए । उनले सन् १७९८ देखि सन् १८०५ सम्म हैदराबादमा बेलायती प्रतिनिधिकारुपमा काम गरेका थिए । लगत्तै चिकित्सक फ्रान्सिस बुचानन् ह्यामिल्टनले सन् १८०२ र सन् १८०३मा १४ महिना नेपालमा बसेर एन एकाउन्ट अफ दी किङडम अफ नेपाल नामक पुस्तक सन् १९१९मा प्रकाशित गरे । यो पुस्तकमा लेखिएको छ ‘नेपालमा गाँजा एक प्रमुख झार हो । यो झारको नेपालमा खेति गरिदैन र यस्को अधिकतम उपयोग लागू पदार्थका रुपमा हुदैन । यस्को सुख्खा पात र चोप निकालेर प्रयोग गरिन्छ’ ।
स्वच्छ हावापानी, चिसो वातावरण, पारिलो घाम अनि जंगली उत्पादनका कारण नेपाली गाँजा तथा चरेश नेपालका छिमेकी देशमा सयौं वर्ष अघिदेखि नै अति प्रसिद्ध थिए । पशुपतिमा शिवरात्रीका बेला आउने साधु–सन्त र पारखीहरुलाई नेपालको गाँजा तथा चरेश लोकप्रिय बनाएको पहिलो श्रेय जान्छ । विक्रम सम्वत २०१५को दशकमा अमेरिकाबाट हिप्पी संस्कृति शुरुभएपछि नेपाल भित्रिएका पश्चिमाहरुले नेपाली ब्राण्डलाई विश्वव्यापी बनाएका हुन् । विक्रम सम्वत २०२५को दशकमा हिप्पीहरु नेपाल भित्रिएका हुन ।
आफ्नै विशिष्ट स्वाद बोकेको नेपाली गाँजा, चरेशमा अमेरिकीहरु अत्यधिक पल्कन थालेपछि अमेरिकी सरकार र संयुक्त राष्ट्र संघसमेतको दबाबमा लुगा लगाउने शैली–ड्रेस कोड र आचरण लगायतका मुद्दालाई अघि सार्दै नेपाल सरकारले पर्यटकहरुमाथि धरपकड शुरु गर्यो र धेरैलाई भारत धपाइदिन थाल्यो । त्यसबेलासम्म गाँजा र चरेशको वस्तु विविधिकरण गरेर मूल्य अभिवृद्धिमा समेत विशेषज्ञता हासिल गरिसकेका नेपाली व्यवसायीहरु एकाएक ३० भन्दा बढी विश्व चर्चित पसलको सटर बन्द गर्न बाध्य भए ।
२०३३ सालमा पारित गरिएको लागू औषध नियन्त्रण ऐन र त्यसपछिका संसोधनहरुले समेत वार्षिक अर्बौ रुपैयाँ आम्दानी हुनसक्ने सम्भाव्य झारलाई अहिलेसम्म निर्वाध हुर्कन दिएको छैन । तर, पनि हिमालयन, वाइल्ड, भर्जिन, नेपोली, नेपाली, धौलागीरी, क्याट लगायतका नाममा नेपाली गाँजा चरेशको ब्राण्ड वैध उत्पादन नहुँदै विश्व बजारमा स्थापित भइसकेको छ । अहिले भारतीय र नेपाली तस्कारहरुको साँठगाँठमा सस्तो मूल्यका गाँजा र चरेशमा मिलावट गरेर बजारमा पठाउने गरिएको भएपनि वैध हुनासाथ विशिष्ट स्वादको नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारको ठूलो हिस्सामाथि कब्जा जमाउने निश्चित छ ।
गाँजा फुकुवा गर्नु पर्ने तर्क
सत्तारुढ नेकपाका मकवानपुर जिल्ला क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने तत्कालिन सांसद तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले प्रतिनिधि सभामा बोल्दै गाँजामाथिको प्रतिबन्ध फुकुवा हुनु पर्ने विषयमा संसदीय बहस आरम्भ गरेका छन् । प्रतिबन्ध फुकुवा भएमा ग्रामिण क्षेत्रको आर्थिक वृद्धिदर ह्वात्तै बढाउन सकिने उहाँको तर्क छ । नियमनकारी निकायलाई प्रभावकारी बनाएर गाँजा फुकुवा गर्नु पर्ने मन्त्री खतिवडाको भनाइ छ ।
त्यसलगत्तै नयाँ वर्षको अवसरमा धादिङ र मकवानपुरको सीमानामा पर्ने झण्डाचुलीमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रममा बोल्दै धादिङ ३ बाट निर्वाचित नेकपाका तत्कालिन सांसद भूमि त्रिपाठीले चन्द्रागिरी चेपाङ हिल् पदमार्गलाई गाँजा ट्रेकिङ ट्रेल नाम राख्न सार्वजनिक प्रस्ताव गरे । गाँजा फुकुवा हुनु पर्ने विषयले विस्तारै विश्वसमुदायसँगै नेपालमा पनि प्रवेश पाउन थालेको हो । पश्चिमा चिकित्सक तथा वैज्ञानिकहरुले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार गाँजाको सेवन वा प्रयोग औषधीय दृष्टिकोणबाट फाइदाजनक तथा चुरोट, रक्सिलगायत अन्य लागु पदार्थको तुलनामा अत्यन्तै कम हानिकारक देखिएको छ ।
गाँजाखेती सम्बन्धी विधेयकमा के छ ?
संसदमा दर्ता भएको प्रस्तावित विधेयकमा गाँजा खेतीलाई बैधानिकता दिइने उल्लेख छ । तर, गाँजा खेती सरकार नियन्त्रित हुने सीमा तोकिएको छ । गाँजा खेती तथा ओसार–पसारलाई अनुगमन र नियमन गर्ने अधिकार दिएर ‘नियमन बोर्ड’ गठन गर्ने र नियमन बोर्डले गाँजा खेती गर्न चाहने वा ओसार–पसार गर्न चाहनेलाई अनुमति दिनेसम्बन्धी कानूनी व्यवस्था गर्ने विधेयकमा प्रस्ताव गरिएको छ ।
गाँजा खेती गर्न चाहने कृषकलाई सम्बन्धित जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट र निकासी तथा विक्री वितरण गर्न चाहने व्यावसायीले नियमन बोर्डबाट अनुमति लिनुपर्ने प्रस्तावित व्यवस्था छ । कुन–कुन स्थानीय तहबाट यस्तो अनुमति दिने भन्ने टुङ्गो सरकारले राजपत्रमा सूचना प्रकाशन गरी टुङ्गो लगाउने छ ।
अनुमति नलिई गाँजा खेती गर्नेलाई एक बर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने प्रस्तावित विधेयकको दफा २५ मा उल्लेख छ । गाँजा खेती गर्न चाहनेको आफ्नै जग्गा हुनुपर्ने वा नेपालभर कतै न कतै जग्गा भएको खण्डमा जग्गा भाडामा लिएर गाँजा खेती सक्ने भनिएको छ । यो प्रावधान अनुसार नेपालमा आफ्नो जग्गा नहुने (सुकुम्बासी वा विदेशी) ले गाँजा खेती गर्न पाउने छैनन् ।
गाँजा, सुकेको गाँजाको पात वा हाँगा रहेको प्याकेट वा गाँजा वा भाङको दाना वा फूल रहेको प्याकेटमा लेबल राखेर मात्रै बिक्री गर्न पाइने विधेयकमा उल्लेख छ । तोकिएको लेबल नलगाए ६ महिनासम्म कैद र १ लाखसम्म जरिवाना हुन सक्ने विधयकमा भनिएको छ ।
अनुमति प्राप्त गर्ने निकायलाई जानकारी गराएर मात्रै गाँजा खेती भित्र्याउनुपर्ने जस्ता प्रावधानहरु पनि विधेयकमा समेटिएका छन् । चिकित्सकको सिफारिसमा मात्र गाँजा सेवन गर्न सकिने गाँजा सेवन गर्न चाहनेका लागि चिकित्सकको सिफारिस अनिवार्य गर्ने प्रस्तावित व्यवस्था विधेयकमा छ ।
१८ वर्ष भन्दा कम उमेरका व्यक्तिको संलग्नता देखिए गाँजा खेतीको अनुमतिपत्र नपाइने, २१ बर्ष उमेर पूरा नभएका वा गर्भवती महिलालाई विक्री वितरण गर्न नहुने विधेयकमा उल्लेख छ । गाँजा खेती गर्ने कृषकले अनाधिकृत व्यक्तिलाई गाँजा बिक्री वितरण गरेमा वा उपलब्ध गराएमा अनुमति पत्र खारेज हुने र कृषकले गाँजा विक्री वितरणको विवरण नराखे अनुमति खारेज हुने लगायत प्रस्तावित व्यवस्था छ ।
गाँजाको विज्ञापनमा प्रतिवन्ध
गाँजाको विज्ञापनमा प्रतिबन्ध लगाउने प्रस्तावित व्यवस्था विधेयकमा छ । ‘पत्रपत्रिका, रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चार माध्यमबाट वा होर्डिङबोर्ड, भित्तेलेखन, श्रव्य दृश्यका माध्यमबाट गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न, कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन’ प्रस्तावित विधेयकको दफा १४ मा उल्लेख छ ।
तर, भाङका दाना वा दानाबाट उत्पादन हुने तेल वा मह वा डाँठबाट उत्पादन हुने कपडाजस्ता खाद्य वा औधोगिक वस्तुको भने विज्ञापन गर्न बाधा नपर्ने पनि विधेयकमा भनिएको छ । सन् १९७० को दशकमा भाँगो तथा गाँजामाथि प्रतिबन्ध लगाउन नेतृत्व गरेका अमेरिका, क्यानाडा, जर्मनीलगायतका देशले नै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकका छन ।
नेपालको भूबनोट गाँजा उत्पादनका लागि उर्वरभूमि भएकाले यसको वैधानिक उत्पादन र बिक्रीवितरणबाट मुलुकमा ठूलो विदेशी मुद्रा आर्जन हुने अभियन्ताहरुको तर्क छ । अमेरिका, क्यानाडा, जर्मनीलगायत ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी आआफ्नो देशका किसानको आम्दानी वृद्धिका लागि खुला गरिसकेका छन ।
१९७० को पूर्वार्धतिर नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो। नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेश निर्यात हुन्थ्यो । त्यसमा साना व्यापारी मात्र हैन समाजका गन्यमान्य व्यक्ति र ठूला व्यापारी पनि संलग्न हुन्थे। नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिन्छ । औषधीय गुण भएको प्रमाणित भइसकेको यो वनस्पतिलाई परम्परागत रूपमा औषधिमा पनि प्रयोग गरिन्छ । कतैकतै यसको दाना भुटेर त्यसको छोप वा अचार बनाएर खाने चलन पनि छ । वैज्ञानिकहरूले गाँजामा हुने विभिन्न यौगिकबारे अनुसन्धान गरेर क्यान्सर एवम् अरू रोगमा उपचार गर्ने औषधि बनाएका छन् । त्यसका लागि केही देशमा गाँजा खेतीले कानूनी मान्यता पाएको छ ।
सिंहदरबार वैद्यखानाका पूर्वनिर्देशक प्राध्यापक डा. चन्द्रराज सापकोटाका अनुसार नेपालले समेत पहिलो विश्वयुद्धका बेला गाँजाबाटै बनाइएको झाडापखालाका औषधि निर्यात गरेको इतिहास छ । अहिले विश्वमा धेरै खोजिनेमध्येको एक निद्रासम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुन्छ ।